“हेर त आकाशमा”
टोलाइरहेको दीपकका आँखा आकाशका उल्काहरुमा धेरैबेरसम्म गाडिएका छन् । झिलीमिली आकाशको आफ्नै गति छ यतिखेर ।
“हब्बलले के खिचिरहेको होला नि यतिबेला ?”
“अँ”
“यतिखेर त मङ्गलकै वरिपरि आँखा लगाइरहेको होला हब्बल१ले पनि नि ?”
“अँ”
विचित्रको उत्सुकता देखिन्छ दीपकको अनुहारमा । कान्ति छाएको अचम्मको उत्सुक मुहार । प्रत्येक साँझ उडिरहेका उल्कासँगै आकाशमा उड्नु उसको जीवनको एउटा अचम्मको रीत बनिसकेको छ ।
“हब्बलनजिकै जान पाए …. वाऽउऽऽ…. जीवनमा कहिल्यै पूरा नहुने सपना भयो यार यो त”
“सबै सपना पूरा हुँदैनन् पनि”
“तैँले पनि त सपना देखेको छस् नि, के पूरा हुँदैन त्यो सपना ?”
(यो त्यतिबेला लेखिएको हो, जतिबेला म पनि मनभरि एउटा सपना सजाएर रमाउँथेँ । अहिले त्यो सपना आधाउधी पूरा भइसक्यो ।)
“हुन पनि सक्छ, नहुन पनि सक्छ । हाम्रो घरको रङ नफेरिएसम्म मेरो सपना कसरी पूरा हुनसक्छ ?
“फेरि साइको हान्न लाग्यो यार यल्ले …..”
दुईभाइ घरको छतमा बसेर तमाससँग बात मारिरहेछौँ । जून नआइसकेको अँध्यारो एउटा रात । आकाशमा स्पेस सेन्टर खोज्दै भाइ एकमन आकाशमा आँखा गाडिरहेछ ।
“ऊऽऽ त्याँ चम्किलो देखिन्छ नि- त्यो भेनस हो”
भर्खरको सिकारुझैं मलाई भाइले ग्रहहरु सिकाउँछ- मर्करी, भेनस, अर्थ, मार्स जुपिटर …. ।
बुझे पनि नबुझेजस्तो गरिदिन्छु म ।
“जान सक्किएला त्याँ ?
“चाहे असम्भव त छैन नि ..।”
(कूल दीपक कूल)
(उसलाई थाहा छैन- संसारमा अनेकन असम्भव चिजहरु छन्, चाहेरमात्र पनि हुँदैन । चन्द्रमामा पुगेको सपना देख्ने मेरो भाइ त्यति माथि आकाशमा उड्न सक्छ, सक्दैन म यसै भन्न सक्दिन । हामी त त्यस्ता झुसिल्कीरा हौँ, जसले आफूलाई हरदम जमिनमा घिसारिरहेको हुन्छ ।)
आठ बजिनसकेको एउटा रात । भाइ अनि म । आकाशका असंख्य ताराहरुमा आफ्नो पृथ्वीको अंश खोज्दै हराइरहेका उत्सुक मनहरु । घरिघरि बादलले हाम्रो दृष्टिको सीमा घटाइदिन्छ । क्षणभरमै चल्ने बतासले बादल छरपष्ट हुन्छ- मानौं हाम्रो खेल बतास र बादलको कृपामा खेलिँदैछ ।
“स्पिरिट र अपुर्चुनिटी कहाँ होलान् ? विचरा ! पृथ्वीमा फर्केर अब कहिल्यै आउँदैनन् । त्यत्रो मंगल ग्रहमा एक्लै के गर्दै होलान् नि, एक्लै !
(उसलाई लाग्छ- निर्जीव स्पिरिट र अपर्चुनिटी ऊजस्तै सपना देख्छन् । विरानो मंगल ग्रहमा एक्लैउक्लै घुम्दा दीपकको मुहारबाट कतिकतिखेर चमक हराउँछ । लाग्छ- ऊ पनि उसैगरी मंगल दर्शनमा जाँदैछ छिट्टै ।)
“तिनीहरुको जे मिसन थियो, त्यही गर्दैछन् नि । टिभी हैर्दैनस् ?”
“त्यैपनि, त्यत्रो अनकन्टार ग्रहमा एक्लै के गर्दै होलान् यार ।”
देख्छु- उत्तानो पल्टिएर आकाशतिर आँखा सोझ्याइरहेछ भाइ । एकैछिनमा बादल लाग्यो आकाशमा ।
“यो बादल पनि मान्छेको सेन्टिमेन्टसँग क्या खेलबाड गर्छ नि ?”
“अँ”
“काऽश…. म त्यै बादल भइदिए….. वाऽउऽऽ …. कसम यार, जिन्दगीभरि आकाशमै घुमिरहन्थेँ स्याटेलाइटजस्तै”
“सपना देख्नु नराम्रो होइन, तर सपना त्यसरी देख् जसरी तैँले त्यसलाई पूरा गर्नसक्छस्..”
“लेनिनले भनेको भुलिस् ? जो मान्छे सपना देख्दैन, त्यो पशु हो । हेर्दै जा, एकदिन एस्ट्रोनोमर बनेरै मर्छु बुझिस् !”
“अँ”
(कूल दीपक कूल)
(हरेकपटक नासाको वेवसाइट चहार्ने भाइको एस्ट्रोनोमर बनेर आकाश चहार्ने सपनालाई म उति महत्व दिन्नँ । मलाई थाहा छ- दाङको एउटा कुनामा बस्ने दीपकको त्यो सपना पूरा गर्ने हैसियत मेरो छैन । खुइलिसकेको मेरो घरको रङ नपोत्दासम्म उसका त्यतिबिघ्न ठूला सपनालाई घुम्टो ओढाउने ल्याकत छैन मसँग ।)
केनेडी स्पेस सेन्टरबाट शटल धुवाँ फाल्दैछ यतिबेला । देख्छु- दीपक शीशाको टोपी लगाएर मलाई हात हल्लाउँदैछ । क्षणभरमै हजारौँ मान्छेहरु हुटिङ गर्छन्- दीपक…..दीपक…. । कराउनेहरु असंख्य नेपाली छन् । नौ, आठ, सात, छ, पाँच, चार, तीन, दुई, एक, जिरो …. । क्षणभरमै स्पेश शटल आकाशतिर सोझिन्छ धुवाँ फाल्दै । देख्छु- दीपक हात हल्लाउँदैछ पृथ्वीतिर । म (उसको दाइ) गमक्क फुलेर भाइको सफलताको कथा लेख्न बस्छु । असङ्ख्यहरुको भीडमा म एक्लो अनेकौँ “बाइट”हरु दिइरहेछु क्यालिफोर्नियाको ठूलो घरमाथि । लाग्यो- यसपालि घरको रङ पोत्छु कसैगरी ।
क्यालिफोर्निया ….दीपक ….अन्तरिक्षयात्री….नेपाली….
मिलनचोकको एउटा कुनामा बसेको मेरो भाइ क्यालिफोर्नियासम्म पुगेर अन्तरीक्षबाट फर्कियो । हेरेँ- गमक्क परेर अझै आकाशतिर आँखा दौडाइरहेछ ।
“त्यसलाई इभिनिङ प्लानेट भन्छन्”
भेनसतिर औँला सोझ्याउँदै मलाई देखायो दीपकले ।
“नाइन्टी वनको पुच्छ्रेतारा बृहस्पतिमा नठोक्किएर पृथ्वीमा ठोक्किएको भए ?! हामी कहाँ हुन्थ्यौँ होला नि यतिबेला ?”
“हाम्रो अस्तित्व नामेट हुन्थ्यो, अरु के ?”
“अमेरिकालाई त मान्नैपर्छ यार । अमेरिका नभैदिएको भए हामी अहिले कहाँ हुन्थ्यौँ हुन्थ्यौँ ।”
“रुस छ नि, किन डराउँछस्”
“रुस पनि प्रोपोगण्डा फैलाउन ओस्ताज छ । अमेरिकालाई घुर्की देखाउन चन्द्रमामा मान्छे पठायौँ भन्ने त्यही रुस त हो नि । रुस भनेको पनि त्यस्तै हो”
(कूल दीपक कूल)
(नामकै कारण रुससँगको सामीप्यता अलि बढी महसुस गर्छु । लेनिन नाम त्यहीँ जन्मिएको हो र मेरा बाले त्यही नाम सापटी लिएर मलाई चिनाइदिए । विलियम सेक्सपियरले ‘नाममा के छ र?’ भनेपनि मलाई मेरो नाम औधी प्यारो लाग्छ किनकिन । आफ्नो नाम प्यारो नलाग्ने को पो होला र ? धत् म ।)
रुसलाई गाली गरेपछि अलिक रिस उठ्नु स्वाभाविक हो । आफ्टर अल- कम्युनिज्मको सुरुवात पनि त त्यहीँबाट भएको हो नि, भलै त्यो इतिहासको एउटा सानो कालखण्डमा फ्याँकिएको होस् ।)
मंगल ग्रहमा अपर्चुनिटी र स्पिरिट खोजिरह्यो दीपक । म भने मेरो घरको खुइलिएको रङ हेर्दै मनैमन एक्लिरहन्छु । एउटा त्यस्तो दिन पनि आउला, जहिले म मेरो घरको रङ फेरुँला ।
“ए वसन्ते ! दीपक.. आओ छिटो .. भात सेलायो”
आमाको यामानको आवाज सुनेर आकाशबाट ओर्लियो दीपक । स्र्वाररर…..ढ्याक्क ।
फिल्म भएको भए फ्ल्यासब्याक हेर्न मजा हुन्थ्यो । रिभर्स सिन- स्र्वाररर…..ढ्याक्क ।
Advertisement