आकाश रुन अझै छाडेको छैन- सिमसिम सिमसिम । भर्खरका फुच्चाहरु मस्तसँग झरीमा छट्टाइरहन्छन्- चिप्लेटी खेलिरहन्छन् । कालो बादलसँग चलिरहेको एकनासे झरीयुद्ध अनवरत चलिरहन्छ ।
‘ए झरी, नझरिदेउ, यसरी…’
नवीन दाइको गीतले कानमा बेलाबेलामा ढ्वाङ पिटिरहन्छ । हेर्छु- आइपडमा डेढ वर्षदेखि बजेको बज्यै छ । धेरै नवीन दाइ बजायो, धेरै सिल्करुट र धेरै एमएलटीआर बजायो । कैलेकाहीँ कुल पोखरेललाई पनि साथ दियो आइपडले । सिमसिमे झरीको पाश्र्व संगीत अनि कानमा आइपडको यामानको इयरफोन !
“हैन रामुदाइ, के भो ?’
“कता गो कता !”
अलि अस्पष्ट छ कुरो । एकनिमेष सुस्ताएपछि-
“राते लैजानेको त बिल्लीबाठै होस्”
कुराको भेउ अझै खुलिसकेको छैन ।
“को राते, कल्ले लयो ?”
“राते क्या, मेरो गाई”
“के भो त रातेलाई ?”
“खै को पापीले लग्यो, त्यसको त नाशै होस्”
कुराको भेउ अलि बेरपछि खुल्यो- रामुदाइको गाई हरायो ।
“भनेको कहिल्यै मान्ने हैन, बजारतिर नलैजाऊ भनेकै थिएँ, कैलेकाहीँ त हाम्ले भनेको पनि मान्नू नि”, भाउजूको गन्थनले कतिकतखेर रामुदाइ कालोमुख लाउँछन् । गल्ती उनको हैन, भाउजूको पनि हैन- बस् समयले उनीहरुसँग मजाक गरेको मात्रै हो ।
“कसरी हरायो राते ?”
प्रश्न सोध्न उति मन छैन, तैपनि औपचारिकता न हो ।
“बजारतिर छाड्याथें, सधैं आउँथ्यो । हिजो त आउँदै आएन ।”
लामो सुस्केरा हाल्छन् । हेर्छु- खुट्टाको घाउले उनलाई थचारेको पनि हप्ता काटिसकेछ । अलि दिनअघि किनेका दुईवटा बाच्छा पनि छैनन् त्यहाँ । गोठ खाली छ, पराल त्यसै कुहिएको छ ।
नेपथ्यमा कताकता बाँ-बाँ कराएको सुनिन्छ । केहीबेर रामुदाई झस्किन्छन्- ऊऽऽ राते आयो । क्रमशः बाँ-बाँ हराउँदै जान्छ, रामुदाइको आश मर्दै जान्छ । हिजो राति पटक्कै सुतेनछन्, आँखा राता छन् ।
—
मौसम पनि उदेकलाग्दो गरी ठुस्सिएको छ । निमेषभर सुस्ताएको छैन आकाश । सँगै रामुदाई पनि समयसँग ठुस्सिएजस्तो गर्छन् । हात हेर्छन्- ठेला परेर काटि्ठएका जिना हात । निधार छाम्छन्- नाम्लोले खुल्सिएको छ । अनि एकबार आफैले आफैलाई पढ्छन्- हारेको एउटा जीवन । एकबार आÏनी लोकी -भाउजू)लाई पढ्छन्- गुन्युसँगै उनका सपना पनि च्यातिएका छन् । बिहेताका उधुमका सपना बुनेथे उनीहरु सँगै बसेर । फिस्टे -छोरो) आएपछि बुढेसकालको लौरो भन्दै सुम्सुम्याएथे । ऐले त्यही लौरो कन्चटको घाउले थला परेको छ । राम्ररी खान नपाएर खिउटिएको छ । तर पनि मनको घाउ अचाक्ली हुँदोरै’छ, फिस्टे के बुझोस् । उसलाई बेलाबेला च्याँ-च्याँ गर्न पाए पुग्छ । रामुदाई आÏनो खुट्टा हेर्छन्- यामानको ठूलो घाउ छ । त्योभन्दा पनि ठूलो मनको घाउ, कहिल्यै निको नहुने ।
झरी लागेर खोलो अलि ठूलो छ । केटाकेटी, बुढाबुढी झुम्म परेर बगरपारि दौडिरहेछन् ।
“जाम् हिन्”
“तिमी जाँदै गर, म फिस्टेलाई दूध ख्वाएर आउँछु”, रामुदाइको आग्रहमा भाउजूले उत्तर फर्काउँछिन् ।
(बगरछेउँको कटेरो वरिपरि ढुंगाका चाङ छन्, कारण- रामुदाइ गिट्टी कुट्छन् । त्यही गिट्टी कुटेर बोराको ८ रुप्पे पाउँछन् उनी । हराएको रातेको दूध बेचेर कहिलेकाहीँ फिस्टेले बिस्कुट खान पाउँथ्यो, अहिले त्यो पनि छैन ।)
डोको लिएर रामुदाइ हिँडे बगरतिर- भलले ल्याएका ढुंगा खेर्न । एकबार अचम्म लाग्यो- बगरैभरि ढुंगा छन्, किन भलको पछि दौडिएका उनी ?
“भलले ठूला र राम्रा ढुंगा लेर आउँछ, त्यै भएर”, भाउजू भन्छिन् ।
“गाई खोज्न जानुहुन्न ?”
“यस्तो झरीमा काँ जाने हो र ?”
“झरीले पनि सास्ती दिएको छ नि ?”
“अँ”
योबाहेक धेरै वार्ता हुँदैन । रामुदाइ पारि डोकोमा ढुंगा टिप्दै, डोकोमा हाल्दै गरिरहन्छन् ।
हराएका सपना पनि यसैगरी बगाएर ल्याइदे ए झरी !
खोलाभरि चहार्दै ढुंगा टिपिरहे रामुदाइ । यता भोकले फिस्टे अघिदेखि नै चिच्चाइरहेको छ । भोको बाउको भोको छोरो । भाउजू तीन दिनदेखि एकछाके भएकोले हुनसक्छ- फिस्टेले मनभरि दूध पाउँदैन । बुढेसकालको लौरो !
“के सुन्नुभा’छ ?”
आइपडप्रति व्यग्र जिज्ञासा छ भाउजूको ।
“गीत”
“ए”
अलिक बेरपछि रामुदाइ ढुंगा खेरेर आउँछन् । गाई हराएको चिन्ता केहीबेर गोठमै थन्क्याउँछन् । थाहा छ- गाई हराउनु उनका लागि ठूलै बज्रपात हो । धेरै बज्रपात खपिसकेका रामुदाइ यसलाई पनि उसैगरी शिरोधार्य गर्छन् । मानौं उनी यामानको साँढे भइसके- बुल फाइटिङका साँढे ।
“काँ गयो होला राते, भाउँ मरो कि ?”
फेरि कुरा कोट्याए रामुदाइले । अब त चाहेर पनि सान्त्वना दिन सक्दिन ।
“भोलि जाम्ला नि त खोज्न”, भाउजूले सान्त्वनाको भाव प्रकट गर्छिन् ।
“भोलि हैन, ऐल्यै जान्छु म”
कालो चिया खाएर रामुदाइ हिँडे । जानेबेला भाउजूले भनिन्, “अबेर नगरे है, आफू र फिस्टेलाई दबाई ल्याए ।”
रामुदाइ हराएको गाई खोज्न एकनास हिँडिरहे झरीमा । नेपथ्यमा नवीन दाइको झरी गुञ्जिरह्यो । त्यो दिन बेलुकी रामुदाइले गाई भेटाएर ल्याए, त्यसबेला उनको अनुहारमा छाएको कान्ति भुल्न नसक्किने थियो ।
—
अर्को दिन बिहानैदेखि कौवाहरु घर अघिल्तिर चिच्याइरहेको कत्ति मनपरेको छैन भाउजूलाई । कौवा कराए पाहुना आउँछन् भन्ने लोकोक्ति उनले पनि सुनेकी छन् । पाहुना आएपछि लाग्ने अनिकालको झल्को बेलाबेलामा आइरहन्छ पनि । आÏनो हविगत सम्भिmँदा कराइरहेको कौवालाई उत्तिखेरै भुइँमा खसाइदिउँजस्तो लाग्छ भाउजूलाई । मानौं- कौवाले ठूलै अनिष्ट निम्त्याइरहेछ । एकघरि भित्र कोठामा हेर्छिन्- हिजो साँझको भान्टा अलिकति उबि्रएको छ । त्यत्तिले त फिस्टेलाई पनि पुग्दैन- उसैमाथि रामुदाइ अनि भाउजू । तीनजनाको परिवार पाल्न सक्दैन त्यो भान्टाले ।
“कत्ति कराइरा’हो असत्ती”, कौवालाई गाली गर्नु उनको अन्तिम विकल्प हो । कालो बादल, कालो बिहान अनि कालै सुरुवात जीवनको ।
हिजो राति तीनजनाको परिवार पूरै पेट नखाएर कटाएथ्यो । चामलको नाममा कनिकासिवाय अर्थोक थिएन पकाउन । त्यही कनिकाको भरले रातभर काट्यो यो परिवारले ।
“अलि सबेरै आउनू आज, ब्यानैदेखि कौवा कराइरा’छ- आज छाँट गतिलो छैन ।”
अघिल्लोपालि कौवा कराएकै दिन रोल्पाबाट दुईजना आफन्तीहरु आएको रामुदाइले झल्कोभरमै सम्झे । मनमा बेजोडले ढ्यांग्रो ठोक्यो- ढ्वाङ…..ढ्वाङ…..।
“के गर्ने उसो भए ? आइफाल्छन् कि ?”
अब त्यो परिवारमा अँध्यारो छायो- साउनमासको बादलझैं । कुइनेटोको भरमै रामुदाइ चौपारीमा थचक्क बस्छन् ।
“हे दैव ! नभाको चिज काँबाड ल्याउने हो ? के खुवाउने हो पाहुनालाई ?”
नआइसकेका पाहुनादेखि तर्सिनु तर्से रामुदाइ र भाउजू ।
“त्यै भएर छिटो जाऊ भन्या हुँ, बरु गैहाल”, भाउजूले अह्राइन् ।
“खाने क्यै छैन, भस्मै भोक पो लाछ तो”
मलिनो अनुहार उसैगरी अनिकालमा रोयो रामुदाइको । एक्लै हुन्थे छ ठीकै थियो- जेनतेन पाल्थे ज्यू । लोकी र फिस्टे पनि त छन्- के गरेर पाल्ने उनीहरुलाई ? जति गाह्रो प्रश्न, उति गाह्रो उत्तर पनि ।
“त्यै भान्टामात्रै भए पनि भुट्, जेनतेन धानिहाल्ला ।”
कौवा कराउन अझै छाडेका छैनन् । रिस र अनिकालले थला परेका रामुदाइ ढुंगा टिप्छन् र जोडले हान्छन् पिपलबोटतिर । कौवा का…का… गर्दै एकनिमेषमै विलीन भए । अलिक बेरपछि त्यो हुल पिपलबोटमाथि आएर फेरि कराइरह्यो ।
“बरु हिँड् बजारतिरर, कोही साहु भेटिन्छ कि गिट्टी किन्ने !”
हप्ता दिनदेखि कुटेका ढुंगा चाङ लागेर पिपलबोटनेर थुपि्रएका छन् ।
“त्यो बेच्ने हो हो भने डेढसय आउँछ, त्यसले त काम गर्ला नि ?”
भाउजूको अनुहारमा कान्ति छरपस्ट देखिन्थ्यो । एक हप्तादेखि गिट्टी किन्न कोही आएका छैनन् । आज कोही आइहाले भने अनिकाल टथ्र्यो । नआइसकेका पाहुना आए भने एकछाक मीठो खुवाउन पुग्थ्यो ।
“गिट्टी बिकेन भने ?”
“नबिके नबिकोस्, अर्थोक के गर्न सकिन्छ र ?”
“बरु तिमी भारी बोक्न जाऊ, म साहु खोज्न जाम्ला हुन्न ?”
भाउजूको उपायमा रामुदाइले गम खाए । गिट्टी नबिकेपछिको विकल्प उही भारी हो, जुन भारीले खुट्टामा यामानको घाउ उपहार दिएको छ । सञ्चो नभइसकेको खुट्टाको र मनको घाउ । घाउको भारी बोकेर चामलको भारी खोज्न जानुपर्छ रामुदाईलाई अब ।
“आज त बेच्नैपर्छ जस्सरी पनि”
“त्यै भनिरने हो कि जाने पनि हो ?”
“ल..ल.. जान्छु, भान्टा पाक्यो ?”
चराले कनिका टिपेझैं टिपे थालबाट । भोकले लथालिंग भएको शरीरलाई जेनतेन उठाउँछन् अनि लमकलमक हिँड्छन् बजार भारी खोज्न । मनभरि अनेक तर्कना आइरहे बाटामा । गिट्टी बिकेन र भारी पनि भेटिएन भने उनलाई मर्नु हुन्छ आज । पाहुनाका कुरा यस्तै हुन्, लोकी र फिस्टेलाई के खुवाउने ?
—
सूर्य अस्ताउनु र रामुदाइको प्रवेशमा पलाको फरक छैन । ओठमा अचम्मको हाँसो छाडेका छन् रामुदाइले यतिबेला । अनुहारभरि पसिना, सुकेको ओंठ । दुई ठाउँमा च्यातिएको सर्ट अनि गलिसकेको ट्रयाक । तैपनि मनमा उदेकलाग्दो उमंग भरेका रामुदाइ ।
“६० रुप्पे कमाएँ”
दिनभरि भारी बोकेर कमाएको ६० रुप्पे भाउजूको हातमा राख्छन् उनी । भाउजूले गिट्टी बेचेको १३० रुप्पै दाइको हातमा राख्छिन् ।
Advertisement